यो सम्मान अष्ट्रेलियामा बस्नुहुने नेपाली जनजातिहरूमध्ये पहिलो र समग्र नेपालीहरूमध्ये दोस्रो हो ।
बाल चिकित्सक डा. रविन राईलाई अष्ट्रेलियामा फेलो (सम्मान) प्राप्त भएको छ । ’द रोयल अष्ट्रेलियासियन कलेज अफ फिजिसियन्स’मा ’पेडियोट्रिक्स एण्ड चाइल्ड हेल्थ डिभिजन’को उहाँलाई ’फेलो’ सदस्य प्राप्त भएको हो । यो सफलतापछिको एक पारिवारिक भेटमा डा. राईले भन्नुभयो– ’यो सम्मानमात्र नभएर एक लाइसेन्सजस्तो पनि हो ।’ उहाँले यो सफलता आफ्नो करिअरको उत्कृष्ट क्षण भएको पनि बताउनुभएको छ । ‘डा. राईले बच्चाहरूको बारेमा राम्रो उपचार गर्न सक्छ भन्ने कुरामा अष्ट्रेलियनहरूले पत्याएका छन्,’ उहाँले भन्नुभएको छ ।
उहाँको सफलता पछाडि परिवार, आफन्त र अष्ट्रेलियामा रहनुभएका इष्टमित्रहरूको उतिकै हात रहेको कुरा उहाँका श्रीमती डा. कामना बान्तावाले बताउनुभएको छ । डा. बान्तावा आफै पनि मेडिकल डाक्टर हुनुहुन्छ । ’साह्रै लामो अर्थात ८ वर्षसम्म डा. रविनले एकाग्र अध्ययन र कठोर परिश्रम गर्नुभएको कारण यो डिग्री हासिल गर्नुभएको हो । उहाँ परिवारभन्दा टाढा रहेर कठिन परीक्षा र अन्तर्वार्ताहरू दिनुभयो,’ डा. बान्तावाले भावुक मुद्रामा भिडियो सन्देशमा उल्लेख गर्नुभएको छ ।
अष्ट्रेलियामै रहनुभएका आफन्त तथा अष्ट्रेलियन आर्मीमा कार्यरत मेजर भल बहादुर राईको अनुसार ’पूर्व ब्रिटिस सैनिकको सन्तान भएर यतिको उचाइमा प्रगति गर्नु चानचुने कुरा हैन ।’ डा. रविन राईको पापा पूर्व ब्रिटिस सैनिक हुनुहुन्छ ।
डा. राईले प्राप्त गर्नुभएको यो फेलो बाल रोग (पेडियोट्रिक) विषयमा अष्ट्रेलियामा बस्नुहुने नेपाली जनजातिहरूमध्ये पहिलो र समग्र नेपालीहरूमध्ये दोस्रो भएको बुझिएको छ ।
बुङ्वाखा मूल अक्षयकोषको दातासमेत रहनुभएका उहाँ बान्तावा राई एवाई पाछाको हुनुहुन्छ ।

डा. राईको पारिवारिक पृष्ठभूमि

डा. रविन राईको जन्म झापाको दमकमा वि.सं. २०३५ मङ्सिर १६ गते भएको थियो । उहाँको पुख्र्यौली घर इलामको आमचोक हो । उहाँको पापा लाल बहादुर राई र आमा मन कुमारी राई दमकमै बस्नुहुन्छ । उहाँका दाजु डा. चन्द्र कुमार राई र भाउजू डा. हेमलता राई परिवारसहित बेलायतमा बसोबास गर्नुहुन्छ । डा. राईको बाल्यकाल दमक र काठमाडौंमा बितेको हो ।
डा. राई आफ्नी श्रीमती डा. कामना बान्तावा र छोरा समर बान्तावा राईसँग अष्ट्रेलियाको न्युक्यासलमा बस्नुहुन्छ ।

शिक्षा
उहाँले प्राथमिक शिक्षा चुलाचुली बोर्डिङ स्कुल दमक, माध्यमिक शिक्षा आनन्दकुटी विद्यापीठ काठमाडौं र उच्च माध्यमिक शिक्षा कोटागिरी पब्लिक स्कुल तामिलनाडु भारतमा पूरा गर्नुभएको थियो । उहाँले बंगलादेशको ढाका विश्वविद्यालयबाट सन् २००३ मा एमबिबिएस हासिल गरी नेपालको विभिन्न सरकारी अस्पतालहरूमा इन्टर्नसिप तालिम गर्नुभएको थियो । सो दौरान उहाँलाई बाल स्वास्थ्यप्रति रुचि भएको थियो ।
उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट बालरोग विषयमा सन् २००९ मा स्नात्तकोतर (एमडि पेडियट्रिक्स्) अध्ययन पूरा गर्नुभएको थियो । अध्ययनसँगै उहाँले कान्ति बाल अस्पताल र पाटन अस्पतालमा काम गर्ने मौका पाउनुभयो । जुन समयलाई उहाँ आफ्नो शिक्षा र सिकाइयात्राको जग मान्नुहुन्छ ।

अष्ट्रेलियाको यात्रा
थप उच्च शिक्षा अध्ययन र कामलाई निरन्तरता दिनको लागि उहाँ सन् २०१० मा अष्ट्रेलिया जानुभयो । त्यहाँ रेफेरल अस्पतालदेखि ग्रामीण क्षेत्रको अस्पतालहरूमा प्रशिक्षण लिनुभयो ।
सन् २०११ मा उहाँले डिप्लोमा इन चाइल्ड हेल्थ (DCH) र सन् २०१९ मा मास्टर इन पब्लिक हेल्थ (MPH) डिग्री हासिल गर्नुभयो ।
डा. राई हाल अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको मेटल्याण्ड सरकारी अस्पतालमा बालरोग विशेषज्ञको रूपमा कार्यरत हुनुहुन्छ । त्यस्तै, सोही अस्पतालमा मेडिकल विध्यार्थीहरूलाई अध्यापन पनि गर्नुहुन्छ ।
रुचि र योजना

फुर्सदको समयमा उहाँले नेपाली र अङ्ग्रेजी भाषाका साहित्य पढ्नुहुन्छ । उहाँले इतिहास र संस्कृतिका किताबहरू अध्ययन गर्नुहुन्छ । उहाँ समसामयिक घटनाहरूबारे चासो राख्ने साथै बगैचा खेतीमा अभिरुचि राख्नुहुन्छ ।
देश, विदेशमा चिकित्सक भई काम गर्दा आफूले विभिन्न स्वास्थ्य क्षेत्रमा प्रशिक्षणको अवसर पाएकोमा कृतज्ञ हुनुहुन्छ । भविष्यमा नेपालको ग्रामीण क्षेत्रको बालबालिकाहरूको स्वास्थ्य सुधारमा केही योगदान गर्न पाए आफूले हासिल गरेको अनुभव, ज्ञान र सीपको सही सदुपयोग हुने उहाँ विश्वास गर्नुहुन्छ ।