संस्थापक संरक्षक र प्रकाशकलाई मातृशोक

0
161
स्व. धनमाया राई

ललितपुर/भदौ २५

बुङ्वाखाको संस्थापक संरक्षक तिलक वालाहाङ राई र प्रकाशक शान्त प्रसाद राईलाई मातृशोक परेको छ । उहाँहरूका आमा धनमाया ताङलुक्‌वा राईको ८५ वर्षको उमेरमा गत भदौ २२ गते निधन भएको हो ।

स्वर्गीय राई दम र मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका साइँली छोरी कुसुम माया राईका अनुसार करिब एक हप्ता अघिदेखि शरीरमा अप्ठ्यारो महसुस भएकोले उहाँलाई भदौ २१ गते ललितपुरस्थित अल्का अस्पतालमा जाँच गर्न लगिएको थियो । मुटुमा असामान्य चाल देखिएपछि उहाँलाई तत्कालै आइसियुमा भर्ना गरी उपचार गराइएको थियो । भदौ २२ गते बिहान उहाँलाई चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । उहाँको पार्थिव शरीरलाई आफ्नो घर भोजपुरको हतुवागढी वालाहाङछानमा पुर्‍याई संस्कार गरिएको छ ।

भोजपुरको आमचोक गाउँपालिकास्थित बयाङमा जन्मिनुभएका उहाँ सोही जिल्लाको हतुवागढी गाउँपालिका वालाहाङछानका लालवीर वालाहाङ राईसँग विवाह भएको थियो । निज वालाहाङको २०४७ सालमै निधन भएको थियो । उहाँहरूका तीन छोरीहरू दुर्गामाया राई, कुसुममाया राई र सुनिता राई हुनुहुन्छ भने चार छोराहरूमा तिलक वालाहाङ राई, मणि वालाहाङ राई, श्याम कुमार वालाहाङ राई र शान्त प्रसाद वालाहाङ राई हुनुहुन्छ ।

हाल हङकङ निवासी तिलक वालाहाङ राई किरात राई यायोक्खा हङकङका सल्लाहकार, किरात राई बान्तावा खिम हङकङ (पूर्व किरात राई बान्तावा यायोक्लाखिम) को संस्थापक अध्यक्ष र वर्तमान सल्लाहकार हुनुहुन्छ । त्यस्तै, श्याम कुमार वालाहाङ राई हतुवागढी गाउँपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

LEAVE A REPLY