बुङ्वाखा/कार्तिक २८
बुङ्वाखाका सल्लाहकार जय शिवाहाङ (जय बहादुर राई)को कोरोना भाइरसको कारण निधन भएको छ । उहाँलाई कार्तिक १३ गते कोरोना भाइरसबाट संक्रमित हुनुभएको पत्ता लागेको थियो । उहाँको कान्छा छोरा प्रसन्नदीपका अनुसार स्वास-प्रश्वासमा समस्या आएपछि कार्तिक २० गतेदेखि ललितपुर कुपन्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा सुधार भइरहेता पनि अचानक कार्तिक २८ गते बिहान अन्दाजी ४ बजेतिर निधन भएको हो ।
उहाँ लामो समयदेखि उच्च रक्तचाप र चिनी रोगबाट ग्रसित हुनुभएकोले ती रोगका औषधीहरू सेवन गर्नुहुन्थ्यो ।
शिवाहाङ तत्कालीन किरात राई बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान (हालः किरात राई बान्तावा खिम)का संस्थापक उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, पाठ्यक्रम विकास केन्द्रबाट लिखित ‘आन य़ङ’ नामक बान्तावा पाठ्यपुस्तकको सुरुवाती सह-लेखक हुनुहुन्थ्यो । हाल उहाँ बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समितिका सदस्य हुनुहुन्थ्यो ।
उहाँ बान्तावा भाषा, संस्कार-संस्कृति, मुन्दुम र इतिहासमा गहिरो दखल राख्नुहुन्थ्यो । बुङ्वाखा संस्थापक संरक्षक तिलक वालाहाङका अनुसार उहाँको अवसानले बान्तावा भाषा र समुदायलाई अपुरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत थुप्रै भाषिक अभियन्ता र संस्कृतिप्रेमीहरूले उहाँको अवसानमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँका ‘मुन्दुमभित्रको विज्ञान’, ‘रामप्रसाद राईको श्रृंखलाबद्व विद्रोह र हतुवा’ साथै रामप्रसाद राईको आलोचनात्मक इतिहास’ नामक कृतिहरू प्रकाशित छन् । जननायक रामप्रसाद राईको ऐतिहासिक पृष्ठभूमि, व्यक्तित्व र योगदानबारे सम्भवतः उहाँले नै पहिलोपटक खोज गरी अधिक पुस्तक र लेखहरू लेख्नुभएको हो । मुन्दुमसम्बन्धी थप पुस्तक लेख्नको लागि उहाँ तयारी गरिरहनुभएको थियो ।
उहाँ लामो समयसम्म शिक्षण पेशामा आवद्व भई सेवानिवृत जीवन विताइरहनुभएको थियो ।
२००८ सालमा भोजपुरको बासिखोरामा जन्मिनुभएका शिवाहाङका श्रीमती, दुई छोराहरू र एक छोरी छन् ।