कूल ४१ कविताहरू प्राप्त
बुङ्वाखा/यलाखोम
बुङ्वाखाको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१६औं बान्तावा अनलाइन कविता प्रतियोगिता’को लागि ३६ जना बान्तावा कविहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा रीत नपुगेका २ वटा र अप्रतियोगी कविको रूपमा ३ वटा कविताहरू गरी जम्मा ४१ वटा कविताहरू प्राप्त भएका छन् ।
साहित्य संयोजको असीम बान्तावाका अनुसार रित पुगी पठाइएका ३६ वटा कविताहरूबीचमा ‘उत्कृष्ट १६’ र ‘उत्कृष्ट ३’ (प्रथम, दोस्रो र तेस्रो) को मूल्याङ्कन गरिनेछ ।
प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट क्रमशः १५ हजार, १० हजार र ५ हजार राशीको पुरस्कार प्रदान गरिनेछ । ‘उत्कृष्ट १६’ का कविहरूलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको लागि सुरुमा सधैंझैं बान्तावा कविता प्रतियोगिताको आव्हान गरिएता पनि कोरोना महामारीको कारण अनलाइन प्रतियोगिता गर्ने आयोजकले निर्णय गरेको थियो । सोहीअनुसार भिडियो बान्तावा कविताहरू आव्हान गरिएको थियो ।
कार्तिक मसान्तसम्म कविता पठाउने अन्तिम मिति भएता पनि तिहार र भिडियो पठाउन प्राविधिक कठिनाइको कारण कविहरूलाई मङ्सिर १० गतेसम्म कविता पठाउने समयसीमा बढाइएको थियो ।
प्राप्त सबै भिडियो कविताहरूलाई बुङ्वाखा युट्युब च्यानल र सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी मङ्सिर २४ गतेदेखि प्रसारण गरिनेछ ।
‘कार्यक्रम हलमा जसरी कवितावाचन र श्रवण गर्ने प्रचलन छ, त्यसकै अनुभूति दिने खालले युट्युब र फेसबुकमा कविता हेर्न र सुन्न सक्ने गरी बनाइन कोशिश गरिनेछ,’ बुङ्वाखा सम्पादक पदम राईले भनेका छन् ।