काठमाडौं/माघ १
बान्तावा भाषाको कविता प्रतियोगितामा पाँचथरका जयकुमार रुछेन्बुङ राई (थामथुमे काइँला) प्रथम भएका छन् । भोजपुर घर भई हाल दक्षिण कोरियामा कार्यरत दीलिप खिम्दुङ बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेसा भएका छन् ।
पुरस्कृत हुनुहुने कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पुरस्कृत गरिनेछ । पुरस्कारको राशी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार राशी र प्रमाणपत्र रहेको छ । बान्तावा भाषासेवी श्यामराज दुब्देङहाङ राईको नवौं वार्षिकीको अवसर तथा किरात यले सम्बत ५०८१ को अवसरमा माघ १ गते कविताको नतिजा सार्वजानिक गरिएको हो । बुङ्वाखाको स्थापना दिवस मङ्सिर २४ गतेका दिन कोरोना महामारीको कारण स्थगित भएको र अब वार्षिक कार्यक्रमको नयाँ मिति तोकेपछि सोही दिन पुरस्कार वितरण गरिनेछ ।
विजेता घोषणा हुनु १५ दिन अघि ‘उत्कृष्ट १६ कविता’हरू सार्वजानिक गरिएका थिए । प्रतियोगितामा नेपाल, युएई, दक्षिण कोरिया र जापानबाट कविहरू सहभागी भएक थिए ।
बुङ्वाखा (फूलबारी) मासिकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१६औं बान्तावा अनलाइन कविता प्रतियोगिता २०७७’ मा जम्मा ३९ जना कविहरू अनलाइन रूपमा सहभागी भएको कुरा बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले जानकारी दिएका छन् ।
बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ मासिकले विगत १६ वर्षअघिदेखि बान्तावा कविता प्रतियोगिता, बान्तावा भाषा, साहित्य, संस्कार–संस्कृति र इतिहासमा योगदान गर्नुहुने स्रष्टा तथा सर्जकहरूलाई पुरस्कृत र सम्मान गर्दै आइरहेको छ ।