पहिचानको लागि बुङ्छेन सुकिता पाछाका ‘दश अभियान’

0
327
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भक्तबहादुर राई ।

 

पदम राई/बुङ्वाखा

बान्तावा माङफाङ बुङछेन सुकिता पाछाहरूले बान्तावा भाषा, संस्कृति, परम्परागत भेषभूषालगायतका पहिचानजन्य दशवटा कामहरूलाई अभियानको रूपमा सुरुवात गर्ने प्रस्ताव गरेका छन् । पाँचथरको फिदिम नगरपालिका ३ स्थित २०७८ वैशाख १५ गते भक्तबहादुर सुकिता राईको अध्यक्षतामा सम्पन्न भेलाले सो अभियानको लागि अनुरोध गरेको हो । ‘किरात राई बान्तावा माङफाङ बुङछेन सुकिता वंश प्रतिष्ठान’का अध्यक्ष र ‘किरात राई बान्तावा खिम’को केन्द्रीय सदस्यसमेत रहनुभएका राईले ‘हाम्रा भाषा, संस्कार–संस्कृतिलगायत पहिचानजन्य चिजलाई बचाइराख्ने हो भने अब अरुको मुख ताकेर हैन, आफैबाट सुरुवात नगरी नहुने भएकोले यो अभियान सुरु गरिएको’ भनी जानकारी दिनुभएको छ । पेशाले उहाँ श्री रानीटार मावि फिदिमका प्रधानाध्यापक हुनुहुन्छ । उहाँले भन्नुभयो– ‘अन्य बान्तावा पाछा र किरात राई भाषिक समुदायलाई पनि यो अभियानलाई अगाडि बढाउन अनुरोध गरेका छौँ ।’

भक्तबहादुर राई ।

‘जुन घरमा तुलसीको मठ रोपिएको हुन्छ, त्यो बाहुनको घर रहेछ भनी चिनिएझैँ हाम्रो पनि पहिचानजन्य सामग्री सबैले देख्ने ठाउँमा राख्यौँ भने यो घर राईको रहेछ भन्ने बुझिन्छ,’ राईले थप्नुभयो– ‘पाँचथरका सबै राई समुदायले यो अभियान रुचाउनुभएको छ ।’

यो अभियानलाई एक वर्षभित्र कार्यान्वयनमा लैजाने निर्णय भएको राईले जानकारी दिनुभएको छ ।

राजबहादुर सिप्तुङखा राईको प्रमुख र गंगाबहादुर चाम्लिङको विशेष आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी किरावाहरू ।

प्रस्तावित अभियानहरू निम्नानुसार रहेका छन्—

१. झारा किरावाचिओ खिमदा सेवा÷सेवान्ने कि पाछा छाप्टुम्कि भोक्टुम्ने । (सबै बान्तावा राईको घरमा नमस्कार र पाछा लेखी टाँसौं ।)

२. झारा किरावाचिओ खिमदा सोलोन्वा कि वाबुप माआङ्लो सेप युङ्सुम्ने । (सबै बान्तावा राईको घरमा चिन्डो, सो नभए नक्सा भए पनि राखौं ।)

३. झारा किरावाचिओ खिमदा सायातालि/सायातालेत युङ्सुम्ने । (सबै बान्तावा राईको घरमा धनुकाँड राखौँ ।)

४. झारा किरावाचिओ खिमदा कोम्बित युङ्सुम्ने । (सबै बान्तावा राईको घरमा खुर्पा राखौँ ।)

५. झाराक किरावाचिओ खिमदा यलम्बर साङ्माकेन युङ्सुम्ने । (सबै बान्तावा राईको घरमा यलम्बर बाजा राखौँ ।)

६. झारा किरावाचिओ बुक्लुङदा मिचिलिम बुङ लिट्टुम्ने । (सबै बान्तावा राईको घरमा मोहोने (कोख) फूल रोपौँ ।)

७. झारा किरावाचिओ काचिपेन्दा पेचुरि कि धजुरा वारिन्ने । (सबै बान्तावा राईका कार्यक्रममा पेचुरी र धजुरा लगाऔँ ।)

८. झारा किरावाचिओ काचिपेन्चिदा किरावा टिट्चि हुम्सिन्ने । (सबै बान्तावा राईको कार्यक्रमहरूमा किराती पोशाकहरू लगाऔँ ।)

९. अक खालाक्ओ पाछा, सामेतदा सायाकाम्मा अमुन्मिन्ने । (एकै पाछा र सामेतमा विवाह नगरौँ ।)

१०. झाराआ आन्को मामाय़ङ चेविन्ने । (सबैले आफ्नो मातृभाषा बोलौँ ।)

‘माङफाङ बुङछेन सुकिताको आव्हान, किरात राई सबैको पहिचान’ नाराका साथ सो पाछाका पदाधिकारीहरूले देश, विदेशमा रहनुभएका किरात राई समुदायले माथिका अभियानहरू सुरुवात गरी मूर्त रूप दिनको लागि आव्हान पनि गर्नुभएको छ ।

फोटो स्रोतः भक्त राईको फेसबुकबाट ।

LEAVE A REPLY