‘बुङ्वाखा’ले श्रष्टाहरूलाई पुरस्कृत गर्दै

0
58
पुरस्कृत व्यक्तित्वहरू ।

बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ (फूलबारी) मासिकमा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरूको नाम घोषणा गरिएको छ ।

संस्कृतिकर्मी, लेखक तथा गीतकार शुभ मुकारुङलाई ५५ हजार २ सय ९१ रुपैयाँ राशीको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७८’ ले पुरस्कृत गरिने भएको छ । टेम्के–मैयुङ गाउँपालिका ३, अन्नपूर्ण, भोजपुरमा जन्मिनुभएका मुकारुङले ‘किरात राई जाति र मुन्दुमी सामग्री’ लगायत करिब १ दर्जन कृतिहरू लेखन, सङ्कलन, सम्पादन र प्रकाशन गर्नुभएको छ ।

पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको छ ।

संस्कृतिकर्मी, लेखक चन्द्रकुमार राई ‘हतुवाली’लाई ५० हजार राशीको ‘बुङ्वाखा–युके सायाचोङ्मा पुरस्कार– २०७८’ ले पुरस्कृत गरिने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका २, दितेनीमा जन्मिनुभएका ‘हतुवाली’ले बुङ्वाखाको स्थापनाबारे अवधारणा विकास गरी पत्रिका सञ्चालनमा विशेष भूमिका खेल्नुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ ।

बुङ्वाखा सल्लाहकार मानबहादुर राईको पहल र संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनुभएका बान्तावा र गैरबान्तावाहरूको सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।

बान्तावा संगीतकर्मी सुखदेव राईलाई ४० हजार राशीको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार– २०७८’ ले पुरस्कृत गरिने भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका, बासिखोरामा जन्मिनुभएका राईले  करिब दुई दर्जन बान्तावा गीतहरू सिर्जना गर्नुभएको छ ।

स्वर्गीय आमा पञ्चकुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङगीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।

बुङ्वाखाकर्मी खान्नुबुङ राईलाई १० हजार राशीको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार– २०७८’ ले पुरस्कृत गरिने भएको छ । हतुवागढी गाउँपालिका २, भोजपुरमा जन्मी बुङ्वाखाको यलाखोम (काठमाडौँ) संवाददाताको रूपमा कार्यरत राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ ।

बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापनाको लागि प्रस्ताव गर्नुभएको छ ।

रामचन्द्र राई ‘राजालिम’लाई १० हजार राशीको ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार– २०७८’ ले पुरस्कृत गरिने भएको छ । आमचोक गाउँपालिका ३, थिदिङ्खा भोजपुर निवासी राई बुङ्वाखामा नियमित स्तम्भकारका रूपमा  रहनुभएकोले यो पुरस्कार प्रदान गरिने भएको हो ।

आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राई र परिवारको पहलमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।

बुङ्वाखा पुरस्कार छनोट उपसमितिको मङ्सिर १० गते बसेको अनलाइन ‘जुम’मार्फत बसेको बैठकले पुरस्कृत व्यक्तित्वहरूबारे निर्णय गरिएको बुङ्वाखा सम्पादक पदम राईले जानकारी दिनुभएको छ ।

बुङ्वाखाको ‘१७औं वाषिर्कोत्सव’ तथा ‘बान्तावा साहित्य महोत्सव’ आगामी मङ्सिर २३ र २४ गते भोजपुरस्थित आमचोक गाउँपालिका बालंखामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लक्ष्मी मालीको प्रमुख आतिथ्यमा आयोजना हुने भएको छ । सो कार्यक्रममा घोषणा गरिएका पुरस्कारहरू श्रष्टाहरूलाई अर्पण गरिनेछ ।

 

LEAVE A REPLY