‘स्वर्णपुरुष सन्तकुमार बान्तावा’को स्मृतिग्रन्थ विमोचन

0
45
स्वर्णपुरुष सन्तकुमार बान्तावा (राई) स्मृतिग्रन्थ’ विमोचन गर्नुहुँदै प्रमुख अतिथि मनोजकुमार साङपाङ राई र अन्य ।

दमक ।

कमल गाउँपालिका ५, पाडाजुँगी झापास्थित ‘स्वर्णपुरुष सन्तकुमार बान्तावा (राई) स्मृतिग्रन्थ’को विमोचन र सो कृतिमाथि परिचर्चा भएको छ । गत असार २७ गते चुलाचुली अङ्ग्रेजी बोर्डिङ मावि दमकको संस्थापक तथा निर्देशक मनोज साङपाङ राईको प्रमुख आतिथ्यमा सो विमोचन भएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि बुङ्वाखा सम्पादक पदम राई, सन्तकुमार बान्तावाको सहपाठीहरू खेमप्रसाद बराल, विष्णुकुमार घिमिरे लगायतका व्यक्तित्वहरूको बाहुलीबाट कृतिको विमोचन भएको हो ।

किरात राई बान्तावा खेङयुङ बोखिम वंशावलीको अध्यक्ष अर्जुनकुमार खेङयुङ राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्व. बान्तावाको सहोदर भाइ दीलिप राईले सम्पूर्ण अतिथिहरूलाई मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा (किराया) झापा अध्यक्ष गणेश राई, किराया प्रदेश १ प्रमुख पारसमणि राई, किराया झापा सचिव सुसन रुङमाहाङ राई, दिपेनवाला राई, अर्जुन कोयू राई, विश्वदीप लिङ्देनलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुमित्रा बाङ्देल ‘चेली’ले पनि लेखकहरूको तर्फबाट शुभकामना मन्तव्य दिनुभएको थियो ।

बुङ्वाखा सम्पादक पदम राईले ‘स्वर्णपुरुष सन्तकुमार बान्तावा’ कृतिमाथि टिप्पणी गर्नुभएको थियो ।

पुस्तकलाई ‘पारिवारिक दृष्टिमा सन्तकुमार बान्तावा’, ‘विद्वतवर्गका दृष्टिमा सन्तकुमार बान्तावा’, ‘सामाजिक दृष्टिमा सन्तकुमार बान्तावा’ र ‘परिशिष्ट’ गरी चार खण्डमा विभाजन गरिएको छ । यस कृतिमा ४६ जना लेखकहरूले सन्तकुमार बान्तावाबारे संस्मरणीय आलेख लेख्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको पूर्व कुलपति वैरागी काइँला, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमकुमार बान्तावा, पूर्वमन्त्री गोपाल किराती र ‘बुङ्वाखा’ले शुभकामना मन्तव्य प्रदान गर्नुभएको छ ।

पुस्तकको सम्पादन/संयोजन कार्य श्री अमरदीप आधारभूत विध्यालय मिक्लाजुङ रवि पाँचथरको प्रधानाध्यापक साङ्गेन राईले गर्नुभएको हो । उहाँले प्राक्कथनको रूपमा सन्तकुमार बान्तावाको जीवनीबारे लेख लेख्नुभएको छ । पुस्तकको प्रकाशन बान्तावाकी श्रीमती कृष्णकुमारी राई र छोरा कमलकुमार राईले गर्नुभएको छ ।

विमोचन कार्यक्रममा सहभागी महानुभावहरू सामूहिक तस्बिर लिदै ।

सन्तकुमार बान्तावाको जन्म वि.सं. १९९१ असार १५ मा पाँचथरको साक्फारामा पापा डम्बरसिंह खेङयुङ राई  (सिद्दिदास) र आमा हंसमति राईको साहिँलो छोरोको रूपमा जन्म भएको थियो ।

सन्तकुमार बान्तावाले आसाम राइफल्सको ८ वर्षे हवल्दार पदको जागिरलाई त्यागेर नेपाल आई इलाम पब्लिक हाइस्कुलमा कक्षा ८ मा भर्ना भएर आफ्नो पढाइलाई निरन्तरता दिँदै २०२० सालमा एसएलसी पास गर्नुभएको थियो । रविबाट पहिलोचोटी सो तह पास गर्नेहरूमध्ये नोवलकिशोर राई, प्रदीप राई र उहाँ हुनुहुन्थ्यो । उहाँले बिएसम्म अध्ययन गर्नुभएको थियो । दुर्गा विध्यालय रविको पूर्व शिक्षक तथा प्राध्यानाध्यापकसमेत रहनुभएका बान्तावाको बहुआयामिक विशेषता रहेको थियो । किरात राई यायोक्खा झापा जिल्लाको २०४८ सालमा संस्थापक अध्यक्ष हुँदै निरन्तर २०६८ सालसम्म सो संस्थामा सेवारत रहनुभयो ।

युवावस्थामा रवि वरिपरि क्षेत्रबाट उहाँ राम्रो फुटबल खेलाडी हुनुहुन्थ्यो ।

पाँचथरदेखि दमकमा आई बसोबास गर्ने क्रममा उहाँले मेची अञ्चल भूतपूर्व सैनिक संगठनको अध्यक्ष भई भूपू सैनिकहरूको हकहितको लागि कार्यरत रहनुभयो । सोही क्रममा ढ्याङ्गेर झोडामा भूपू सैनिकहरूको परिवारलाई पुनर्वास गराउन सफल हुनुभएको थियो । दमक क्याम्पस (२०३४) को संस्थापक समेत रहनुभएका उहाँ मंगलमय माध्यमिक विध्यालय (२०२५) लगायत अन्य विध्यालयहरूको स्थापनामा पनि उत्तिकै योगदान रहेको थियो ।

उहाँ दुई पटक राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार भई सहभागी हुनुभए पनि सफल हुन सक्नुभएन ।

दमकस्थित ‘किरात भवन’को भवन निर्माण, झापा लखनपुरस्थित ‘आदिवासी रंगशाला’को निर्माण र सञ्चालनमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो ।

वि.सं. २०६८ साल फागुन २० गते निधन भएको बान्तावाको परिवारमा श्रीमती र तीन भाइ छोराहरू हुनुहुन्छ ।

LEAVE A REPLY